‘आवश्यकता र औचित्यकाआधारमा गठबन्धन हुने’ माओवादी नेता भट्ट

दार्चुला । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बलियो बनाइने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले बताएका छन्। प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले प्रतिगमनकारी शक्तिका विरुद्ध माओवादी पार्टीकै अग्रसरतामा गठबन्धन बनेको भएकाले यसलाई बलियो बनाउने माओवादीको दायित्व भएको बताएका हुन् ।

उनले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीसँग अन्य पार्टीहरुले गठबन्धन गर्न चाहे पछि नहट्ने तर गठबन्धन नभएपनि पार्टी एक्लै निर्वाचनमा जान तयार रहेको पनि बताए । जनताको पक्षमा माओवादी रहेकाले पार्टीप्रति आकर्षण रहेको उनको दावी छ । नेपाली काङ्ग्रेस र गठबन्धनका पार्टीसँग आवश्यकता र औचित्यका आधारमा निर्वाचनमा गठबन्धन हुने इन्चार्ज भट्टले बताए । गठबन्धनका सन्दर्भमा काङ्ग्रेस पार्टी भित्र विभिन्न धुब्र भएपनि संस्थागत र नेतृत्वको धारणा गठबन्धन पक्षधर रहेकाले निर्वाचनमा संगै जाने उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे माग जायज रहेको बताउदै यसबारे माथिल्लो तहमा कुरा भइरहेको बताए ।

साथै फरक प्रसङ्गमा बोल्दै इन्चार्ज भट्टले माओवादीलाई २०७० सालको आखाँबाट नहेर्न आग्रह गरे। यस निर्वाचनमा माओवादीको २०६४ सालको मत नयाँ सिराबाट स्थापित हुने दावी गरे । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय दार्चुलाका संयोजक मान बहादुर धामीको अध्यक्षता रहेको भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य खगराज भट्टले सम्बोधन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.