मुख्यमन्त्री यु–१९ महिला राष्ट्रिय क्रिकेटमा गण्डकी र बागमती विजयी

धनगढी । धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलवार भएका दुई खेलमा गण्डकी र बागमती प्रदेश विजयी भएका छन्। पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एक लाई १५ रनले पराजित गर्‍यो भने दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई १८ रनले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट हुन पुग्यो। उसका अञ्जली शाहले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क छुन सकेनन्। बलिङतर्फ गण्डकीकी कुसुम गोदर र ज्योत्सनिका मरासिनीले ३/३ तथा मनीषा उपाध्याय र निरु घर्तीले २/२ विकेट लिइन् ।

दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई १८ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागमतीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङ थालेको लुम्बिनी १६.४ ओभरमै ८३ रन बनाएर अलआउट हुन पुग्यो। उसका लागि रन्जु श्रेष्ठले २३ र जिज्ञासा थापा तथा शुष्मीता भुसालले १२/१२ रन बनाइन्। बलिङतर्फ बागमतीकी सोनी पाख्रिन र लक्ष्मी खड्काले ३/३ तथा विपीश्ना शाहीले २ र कृष्मा गुरुङ तथा हेलिशा गुरुङले १/१ विकेट लिइन्।

सुदूरपश्चिम प्रदेश सरकारकाे सहयाेगमा नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए। ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।

यसअघि सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन्।  

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.