धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आयाेजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब पहिलाे खेलमै हारेकाे छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्टस क्लब सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पासँग २–१ गोल अन्तरले हरेकाे हाे ।
याे जीतसँगै हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ।प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो। त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ। जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ।