धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले प्रदेश सरकारकाे संरचना नाैलाे भएपनि सुदूरपश्चिम प्रदेश सरकारले धेरै काम गरेकाे बताएका छन् । धनगढीमा जारी नेपाली साहित्य महोत्सव ०७८ मा ‘संवाद प्रदेशकै विकासको सन्दर्भ’बारे सवालजफवमा प्रदेश सरकारका मन्त्रीहरुले यस्ताे दाबी गरेका हुन् ।
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिलामन्त्री तारा लामा तामाङ र सामाजिक विकासमन्त्री लालबहादुर खड्कासँग पत्रकार शिवराज भट्टले सवालजवाफ गरे । मन्त्री सोडारीले प्रदेश सरकारले जनअपेक्षाअनुरूप गर्न नसकेको भए पनि केही गर्दै नगरेको भन्ने बुझाइ नराख्न आग्रह गरे । उनले गाउँगाउँमा सडक पुर्याइएको, नौवटै जिल्लामा गौरवका सडक आयोजना बनाएर काम भएको चर्चा गरे ।
यस्तै, मन्त्री खड्काले स्वास्थ्य क्षेत्रको विकासमा धेरै ठूलो फड्को मारिएको दाबी गरे । ‘हरेक जिल्लाका अस्पतालमा आईसीयू सञ्चालन गर्ने काम भएको छ । स्वास्थ्य जनशक्ति र पूर्वाधार विकासमा अभूतपूर्व काम भएको छ,’ मन्त्री खड्काले भने, ‘आज हरेक जिल्ला अस्पतालमा अक्सिजन प्लान्टहरू स्थापना भएका छन् ।’
अर्का वक्ता आर्थिक मामिला मन्त्री तामाङले समयमै बजेट कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे ।कर्मचारी अभाव र परम्परागत कार्यशैलीका कारण त्यसो हुन गएको दाबी उनले गरे ।