धनगढी । एमसीसीको विरोधमा बिहीबार सुदूरपश्चिमको राजधानी धनगढीमा पनि प्रदर्शन गरिएको छ। नेकपा माओवादी केन्द्रका जनबर्गिय संगठन संयुक्त आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा प्रदर्शन भएको हो।
धनगढीको चाैराहबाट एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ। कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरे।
उनले अहिलेको सत्ता गठबन्धनको एजेण्डा एमसीसी होइन, केपी शर्मा ओलीको दम्भ तोड्नका लागि सत्ता गठबन्धन बनेको बताए। कोणसभालाई सम्बोधन गर्दै विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिले पनि एमसीसी देशको हितमा नभएकाले फिर्ता पठाइनुपर्ने बताएका छन्। उनीहरूले एमसीसी चाहिँदैन, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, लगायत एमसीसीको विरोधमा विभिन्न नारा लगाउँदै प्रदर्शन गरिएको माओवादी नेता रमेश भट्टराईले जानकारी दिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपा, नेकपा बिप्लव समुह लगायतका विभिन्न पार्टीका कार्यकर्ताले देशभर प्रदर्शन गर्दै आएका छन्।यस्तै आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेपछि भोलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको हो । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।