धनगढी । बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटनास्थलमै ३ जना र उपचारका लागि डडेल्धुरा अस्पताल लैजादै गरेका बेला एक जनाको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परि पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै गम्भीर घाइते पाटन नगरपालिका ३ का १२ वर्षका राजेश प्रसाद पन्तको डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।
घाइते पाटन नपा ३ का २० वर्षका सन्दीप विष्ट (गम्भीर), सोही ठाउँका १२ वर्षका सुनील भट्ट (मध्यम घाइते), १२ वर्षका अमित विष्ट र सुदीप पन्त सामान्य घाइते प्रहरीले जनाएको छ।घाइतेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।