सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै
धनगढी। सुदूरपश्चिमका मुख्य स्वास्थ्य सूचकहरूको अवस्था सुधारोन्मुख देखिएको पाइएको छ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षमा प्रदेशका मुख्य स्वास्थ्य सूचकहरूको अवस्था सुधारोन्मुख देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको स्वास्थ्य वार्षिक प्रतिवेदनले जनाएकाे हाे ।
खोप, पोषण, सुरक्षित मातृत्व, एकीकृत बालरोग ब्यवस्थापन, परिवार नियोजन, ओपीडी सेवालगायतका स्वास्थ्य सूचकहरूको अवस्थामा केही सुधार देखिएको हो । स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य वार्षिक प्रतिवेदन ०७७/७८ अनुसार सुदूरपश्चिममा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष ०७५/७६ मा पूर्ण खोप पाउने बालबालिको संख्या ७१.३ प्रतिशत रहेकोमा ०७७/७८ मा ७९.१ प्रतिशत पुगेको छ ।
सोही अवधिमा बीसीजी खोप पाउने बालबालिकाको प्रतिशत ८४.४ रहेकोमा अहिले ९०.२ प्रतिशत पुगेको छ । ३ वर्षअघि डीपीटी पहिलो मात्रा खोप ८४.५ प्रतिशत बालबालिकाले पाएकोमा अहिले ८८.७ प्रतिशत पुगेको छ । डीपीटी तेस्रो मात्रा खोप पाउनेहरूमा पनि ३ प्रतिशतले वृद्धि भएको छ । दादुरा रुबेला दोस्रो मात्रा खोप पाउने बालबालिकाहरू तीन वर्षअघि ७४.६ प्रतिशत रहेकोमा हाल ८५.३ पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।