माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।

पार्टीभित्रको सांगठनिक राजनीतिक विषयलाई टुंगो लागाउन र एमसिसीबारे निर्णय लिन भन्दै माओवादीले केन्द्रीय समिति बैठक बोलाएको थियो। माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, पार्टी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बैठक बस्न सकेको थिएन।

माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। महाधिवेशनपछि एकपटक बैठक बसे पनि पदाधिकारी छान्न सकेको छैन। महाधिवेशनपछि पुस १९ गते बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गर्दै सकिएको थियो।

त्यसपछि माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि कोरोना महामारीका कारण बस्न सकेको थिएन। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.