सुदूरपश्चिम सरकारद्वारा विज्ञापन खाेल्न लाेकसेवा आयाेगलाई आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रालय तथा मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । आज विहीवार बसेको बैठकले रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने तयारी गरेको छ ।आज बसेको मन्त्रीपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

उनले भनिन्- ‘अबको एक साताभित्रै सबै मन्त्रालयले माग आकृति फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने  छन्।’ यता लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आकृति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने जनाए।

सुदूरपश्चिम प्रदेशमा साढे २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.