बाक्लो हिमपातकाकारण अवरुद्ध भीमदत्त राजमार्ग खाेल्ने प्रयास जारी

धनगढी । माैसममा केही सुधार हुन थालेपछि बाक्लो हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग खाेल्ने प्रयास शनिबार  विहानैदेखि पुन: जारी राखिएकाे छ । सुदूरपश्चिमका कैलाली-कञ्चनपुरबाट सात पहाडी जिल्ला जाेड्ने एक मात्र याे सडक दुई दिनदेखिकाे हिमपातले अबरुद्ध हुँदा सयाैं यात्रु बाटाेमै अलपत्र परेका छन् ।

प्रदेश टाफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार केही स्थानमा अवरुद्ध रहेको सडक खुलेको भए पनि बैतडीको खेड्पे, डडेल्धुराको साहुखर्क, हगुल्टे लगायतका ठाउँमा अवरुद्ध नै छ। केही बेरमा फेरी हिउँ पन्छाउने काम सुरु गरिने बताइएको छ।

बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन। लगातारको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको राजमार्ग शुक्रबार पनि खुल्न नसकेको हो।

त्यस्तै, हिमपातकै कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा हिउँ पन्छाइएको भए पनि ढुंगा खस्दा फेरी अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ। ढुंगा हटाउन डोजर गइरहेको र केही बेरमै उक्त राजमार्ग सञ्चालनमा आउने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.