हिमपातले सुदूरपश्चिम पहाडी राजमार्गहरु बन्द, जनजीवन कष्टकर
धनगढी । तेस्राे पटककाे हिमपातले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका तीन मुख्य राजमार्गहरु बन्द भएका छन् । विहीबार अपराह्नदेखि पर्नथालेकाे हिमपातले यहाँका भीमदत्त डा केआई सिंह र जयपृथ्वी राजमार्ग अबरुद्ध भएका हुन् ।
बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ।
यसका साथै डोटीको गैरा, डडेल्धुरा हगुल्टे, साहुखर्क, भत्काँडा लगायत भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। बिहानैदेखि वर्षा भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो।जसले गर्दा यी सडक मार्ग बन्द रहेका छन् । यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
उनले भने, “राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ।” उता सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, “राजमार्ग क्षेत्रमा भारी हिमपात भएको छ, सवारी आवागमन रोकिएको छ। हिउँ पर्ने क्रम जारी छ। बाटो खोल्ने प्रयास गरिरहेका छौँ।”
यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिए। उनले भने, “वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ। बाहिर निस्कनै मुस्किल भएको छ।”
वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ। वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन्। हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्।