धनगढी । मोफसलको सर्वाधिक धनराशि पुरस्कार रहेको सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकप फुटबल प्रतियोगिता फागुनमा धनगढीमा हुने भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा फागुन १९ देखि २८ सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
२०७३ सालदेखि शुरु गरिएको गोल्डकपको यो पाँचौ संस्करण हो । यस वर्ष सो प्रतियोगिताको मुख्य प्रवद्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ । सोही कारण पाँचौ संस्करणलाई मुख्यमन्त्री पाँचौ अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७८ दिइएको छ । युवाहरुलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने, युवाहरुलाई दुव्र्यसनीबाट जोगाउने, यहा“का अभिभावकहरुलाई खेलतिर उत्साहित गर्ने, फुटबल खेललाई व्यवसायिक बनाउन मद्दत गर्ने र यस क्षेत्रमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सो प्रतियोगिता गरिन लागेको आयोजकले जनाएको छ ।
क्लबका महासचिव प्रकाश शाहीले सो प्रतियोगितामा १० टिमको सहभागिता रहने बताए । ‘नेपालका पाँच ए डिभिजन क्लब, मोफसलका दुई, विदेशी २ र आयोजक गरि जम्मा १० टिमको सहभागित रहने छ’ उनले भने ‘प्रतियोगिताका विजेतालाई २१ लाख र उपविजेतालाई १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।’ प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई नगद २० हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्यच खेलाडीलाई १० हजार रकमको पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा एक करोड ५० लाख भन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।
सो प्रतियोगिता एन्फा तथा फिफाको नियमानुसार खेलाईने छ । प्रतियोगितामा अन्दाजी पाँच हजार भन्दा बढी फरक फरक मानिसहरुले अवलोकन गर्ने छन भने ५० लाखभन्दा बढी मानिसहरुले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकको दाबी रहेकोछ ।