सत्ता गठबन्धनको बैठक बस्दै‚ निर्वाचनबारे छलफल हुने

काठमाडौं । आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ।

स्थानीय तह निर्वाचन पछाडि धकेलेर पहिले संघीय संसद र प्रदेशसभाको चुनावको तयारी गरेका दलहरूले आज चुनावबारे स्पष्ट धारणा बनाउन लागेका हुन्। यसअघि निर्वाचनको तयारी र आधिकारिक धारणा तय गर्ने विषयमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।

उनीहरूबीचको छलफलमा स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल भएको थियो।तर‚ शुक्रबार नै बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने बताएका थिए। संविधानअनुसार स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्र गर्नु पर्छ।

गठबन्धनका शीर्ष नेताहरूले भने स्थानीय तहको निर्वाचन ६ महिनापछाडि धकेलेर पहिले संघको चुनाव गर्नेबारे छलफल चलाइरहेकाले दलहरूबीच साझा धारणा बनाउन सकस हुने देखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.