धनगढी । कैलालीमा आइतबार कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको खोप लगाएको आधा घण्टभित्रै मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ ‘के गाउँ’ का ५३ वर्षीय रामदास डङ्गौराको मृत्युभएको हो ।
मृतक डङ्गौराले आइतबार सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल दोस्रो डोज खोप लगाएका थिए । खोप लगाएर घरतर्फ हिँडेका उहाँको केही समयपछि मृत्युभएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए । ‘खोप लगाएर घर नपुग्दै बाटोमै बेहोस भएको र मृत्यु भएको परिवारका सदस्यहरुको भनाई छ’, उनले भने ।
मृतक डङ्गौरा हिडेर खोप लगाउन आएको र हिडेर घरतर्फ गएको सापकोटाको भनाई छ । डङ्गौराले यसअघि, मङ्सिर १३ गते भेरोसेलको पहिलो डोज लगाउनुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप लगाएपछि डङ्गौराको मृत्यु भएकोबारे विश्व स्वास्थ्य सङ्गठनमा जानकारी गराइसकेको बताए ।
यसबारे विश्व स्वास्थ्य सङ्गठनकै विज्ञहरुका टोलीले छानबिन गर्ने उनले बताए । ‘खोपको कारणले मृत्यु भएको हो वा अन्य कारणले, त्यसबारे छानबिन हुन्छ’, उनले भने ।