डाेटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले भाैगाेलिक परिवेश र समय सापेक्ष शिक्षा नीति हुनुपर्ने बताएका छन् । डाेटीकाे शिखर नगरपालिकास्थित हरिहर माध्यमिक विधालयकाे बार्षिक उत्सव तथा अभिभावक दिवसकाे बिहीवार उद्घाटन गर्दै ‘बजारमा बिक्ने र समाजमा टिक्ने’ खालकाे प्राविधिक शिक्षा आजकाे आवश्यकता रहेकाे बताएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकार आफ्नै शिक्षा नीति तयार पारिरहेकाे जानकारी दिंदै मुख्यमन्त्री भट्टले त्यसले यहाँका समुदायीक विधालयकाे स्तरउन्नति गरी समग्र प्रदेशकाे समृद्धिमा टेवा पुराउने विश्वास व्यक्त गरे ।
अहिलेकाे शिक्षा नीतिले फड्काे मार्न नसक्नुमा समुदायीक विधालयका शिक्षक, कर्मचारी र नेताहरुकाे साेचले काम गरिरहेकाे तीताे यथार्थ रहेकाे भन्दै उनले सरकारी तलब खाने तर, आफ्नाे क्षमतामाथि आफैलाई बिश्वास नभएर आफ्ना छाेराछाेरी अन्तै प्राईभेट बाेर्डिङ्ग पठाउने साेचले दुई थरी शिक्षा देखाएकाे बताए । यस्ताे प्रबृति अन्त्य हुनुपर्ने उनकाे भनाई थियाे ।
वर्षैंदेखि पछाडी पारिएकाे सुदूरपश्चिममा प्रदेश सरकार स्थापनापछि विकास निर्माणकाे रेखा काेरिदै गएकाे उदाहरण दिंदै मुख्यमन्त्री भट्टले शिक्षामा तीन तहकै सरकारकाे साझा दायीत्व हुनुपर्नेमा जाेड् दिए । साेही अवसरमा उनले विधालयकाे ४ काेठे नवनिर्मित भवनकाे उद्घाटन समेत गरेका छन् ।