धनगढी । कैलालीको धनगढीमा निर्माण भइरहेको होल्डिङ सेन्टर भदौंमै निर्माण सम्पन्न हुनुपर्ने तर अझै अधुरै रहेको छ । धनगढी उपमहानगरपालिका–३ बडहरास्थित सामुदायिक वनमा बनिरहेको होल्डिङ सेन्टर तोकिएको समायवधिमा पूरा हुन नसकेपछि पुस मसान्तसम्म समय थप गरिएको थियो । तर, थप गरिएको समयमा पनि निर्माण कार्य पूरा हुन सक्ने अवस्था भने छैन।
निर्माण कम्पनी श्री हनुमान कन्स्ट्रक्सनका इन्जिनीयर विक्रम गैरेले रकम निकासामा ढिलाइ हुँदा काम तदारुकताका साथ अगाडि बढ्न नसकेको बताए । उनले माघ मसान्तसम्म सबै काम पूरा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै भने–‘बजेट निकासामा ढिलाइ हुँदा आवश्यक सामान खरिद गर्न समस्या छ । समान खरिद गर्न समस्या भएपछि निर्माणमा पनि ढिलाइ भएको हो ।’ उनले निर्माण सामग्री पनि पर्याप्त मात्रामा उत्पादन नहुँदा काम गर्न ढिलो भएको जिकिर गरे ।
नेपाल सरकारको लागतमा बनिरहेको सो होल्डिङ सेन्टरको गत असार ३ मा ठेक्का सम्झौता भएको थियो । श्री हनुमान कन्स्ट्रक्सनले २८ करोड ८१ लाख १२ हजार रुपैयाँमा ठेक्का पाएर ‘पेटी ठेकेदार’ लाई काममा लगाएको थियो। अहिलेसम्म ठेक्काको २५ प्रतिशतमात्रै रकम निकासा पाएको निर्माण कम्पनीका इन्जिनीयर गैरेले बताए ।हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको उनकाे भनाई छ ।
सामुदायिक वनको जग्गामा निर्माण भइरहेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा शौंचालय र १५ वटा डाइनिङ हलसहितको भान्सा बन्नेछ । एक हजार मान्छेलाई राख्न सकिने होल्डिङ सेन्टरमा ३०० शैया तयार भइसकेको इन्जिनीयर गैरेले जनाए । होल्डिङ सेन्टरमा अस्पतालको जस्तै शैयाका साथै एसोसेरिज रहनेछन्। संघीय सरकारले केन्द्रबाटै होल्डिङ सेन्टरको ठेक्का सम्झौता गरे पनि निर्माण कार्यको अनुगमन तथा निरीक्षणको जिम्मा भने धनगढी बोराडाँडीस्थित नेपाली सेनाको भवानी दल गणले पाएको थियो।
नेपाल सरकारको ठूलो लगानीमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण कार्य पूरा भएमा कोरोना महामारीका क्रममा भारतबाट फर्किने नेपाली कामदारलाई त्यहाँ व्यवस्थापन गर्न सहज हुनेछ । महामारी बढेको बेला फर्किनेलाई केही दिन होल्डिङ सेन्टरमा राखेर घर पठाएमा परिवार, समाजमा कोरोना सङ्क्रमणको त्रास नरहने बताइएको छ । पछिल्लो समय ओमिक्रोनको त्रास बढेको छ । भारतमा ओमिक्रनको संक्रमण पनि बढ्दै गएको छ ।