देशैभर वर्षा, सुदूरपश्चिम पहाडी जिल्लामा हिमपात
काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गए रातिदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा भैइको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार भाेली बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ। उता सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै गएरातिदेखि हिमपात भैइरहेको छ। डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो । डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजेपछिबाट पानीसँगै हिउँ पर्न सुरु भएको थियो। बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझ लगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
जिल्लाका केही स्थानमा हिजो साँझदेखि र केही स्थानभमा आज बिहानदेखि हिमपात धइरहेको उनले बताए। हिमपातका कारण गाडीहरु नचलिरहेका उनले बताए। यस्तै, बाजुरामा पनि हिमपात भइरहेको छ। जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताए।
डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।