धनगढीमा जारी पीएम कपकाे उपाधि चुम्न प्रदेश नम्बर १ र एपीएफ भिड्दै
धनगढी । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपाधिकालागि प्रदेश नम्बर १ र विभागीय टोली एपीएफ भिड्दै छन् । शनिबार भएको सेमिफाइनल खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली सुदूरपश्चिम र एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गरी उपाधि होडमा पुगेका हुन ।
प्रतियोगितामा दुवै टोली अपराजित रहँदै उपाधि नजिक पुगेका छन् । अनुभवी खेलाडी रहेका दुवै टिम बलिया टोली हुन । फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा पहिले ब्याटिङ गर्दा दुवै टिमले एक सयभन्दा बढी रन बनाउने गरेका छन् । यद्यपि, बाजी कस्ले मार्ला भन्ने हेर्न बाँकी छ । तर, एपीएफ उपाधिको बलियो दाबेदार रहेको उसको प्रदर्शनबाटै पुष्टि हुने गरेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, वुमन अफ द सिरिजले २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्स वुमनले १५ हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।