सुदूरपश्चिमका साढे सात लाख जनाले लगाए कोरोनाविरुद्धको खोप

धनगढी । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् ।

अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताए । प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडनौ खोप दिने तयारी पनि गरिएको छ । प्रवक्ता कार्कीले भने, ‘‘आउने पुस महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडनौ खोप दिने तयारी छ ।’’

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो । नमूना परीक्षण गरिएका मध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.