कोरोनाको नयाँ भेरियन्ट राेक्न सुदूरपश्चिम सरकारले थाल्याे अनेक प्रयास
धनगढी । नेपालमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट देखिएसँगै सुदूरपश्चिम प्रदेश सरकारले राेकथामकालागि अनेक प्रयास थालेकाे छ । नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि संघीय स्वास्थ्य मन्त्रालयले आज रातिदेखि हङकङसहित ९ देशबाट नेपाल आउन प्रतिवन्ध लगाउने तयारी गरेको छ ।
यता, मुख्यमन्त्री त्रिलाेचन भट्ट अध्यक्ष रहेकाे प्रदेश काेराेना संकट व्यबस्थापन समितिकाे साेमवार बसेकाे बैठकले प्रदेशका नाकाहरुमा रहेका स्वास्थ्य हेल्पडेस्कलाई थप सुदृढ पार्ने, शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने, कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबारे जानकारी सहित बच्ने उपयाहरु जनसमुदायसम्म सचेतना पुराउने, स्वास्थ्य संस्था अस्पतालमा सबै प्रकारकाे तयारी राख्ने लगायतका निर्णय गरेकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका अधिकृत जगदीश जाेशीले जानकारी दिए ।
बैठकमा प्रदेश आर्थिक मामला मन्त्री तारा लामा तामाङ, सामाजिक विकास मन्त्री लालवहादुर खड्का प्रमुख सचिव, आन्तरिक मामला तथा कानून मन्त्रालयका सचिव लगायत कैलालीका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।
नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण देखिएको छ । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो। आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।
अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ।