तीब्र गतिवाला कोभिडको नयाँ भेरिएन्ट देखियाे, संसारभर त्राहित्राही

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमणको दर तीव्र हुनुका साथै बिरामीमा गम्भीर लक्षण देखा पर्न सक्ने बताएका छन् । नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । तर डेल्टा भेरिएन्टको दाँजोमा ‘बी.१.१.५२९’ को ‘रिसेप्टर बाइन्डिङ डोमेन’ मा समेत १० प्रकारको परिवर्तन (म्युटेसन) पाइएको हुँदा अत्यन्त सतर्कता अपनाउनुपर्ने बताईरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.