नेपाल-भारत गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।

आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका छन् ।

हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ । ५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल गरिसकेको छ भने भारतले मात्र ५ गोल गर्न सकेको छ । आजको खेलमा भारतका लागि अञ्जन विष्ट, सुमन लामा, आयुष घलान र मनिस डांगी टाउको दुखाई बन्न सक्छन् ।

नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल जिते नेपालले नयाँ इतिहास रच्ने छ भने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सुखद् बिदाइ हुनेछ । अलमुताइरीले फाइनल नै नेपालका लागि उनको अन्तिम खेल हुने बताइसकेका छन् । बंगलादेशको खेलपछि उनले नेपाल नफर्कने घोषणा गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.