दशैं सुरु भएपछि शहर बजार रित्तिदै, गाउँ भरिँदै (फोटो फिचर)
धनगढी । दशैं मनाउन यतिबेला देश विदेशका शहरवजारबाट गाउँ जानेको निकै ठूलो लर्को लाग्न थालेको छ । काम बिशेषले घरबाट टाढा रहेकाहरु घटस्थापना शुरु भएदेखि दशैं मनाउन जन्मथलाे वा गाउँ फर्किन थालेका हुन् । यसले गर्दा अहिले शहर, बजार रित्तदै गएका छन् भने गाउँ भरिँदै गएका छन् ।
दशैं–तिहार मनाउन काठमाडौंबाट गाउँमा मात्र हैन विदेशबाट पनि यही समयको मौका मिलाएर नेपाल आउने गर्छन् । भारतबाट लाखौं सङ्ख्यामा यो समयमा घर फर्कने गरेका हुन्छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएका पनि दशैं मनाउन गाउँ घर फर्किँदै छन् । कैलालीको अत्तरिया बसपार्कमा सुदूरपश्चिमका पहाडी जिल्लामा जाने यात्रुहरुको घुईचो लाग्ने गरेको छ । दशैं मनाउन तराई तथा पुर्वी जिल्लाबाट अत्तरिया बसपार्क भएर जाने यात्रुका कारण बसपार्कमा घुईचो लाग्ने गरेको हो ।
विशेष गरेर साँझ र बिहानको समयमा बसपार्कमा निकै भिड हुने गरेको छ । बसपार्कमा यात्रुहरुको भिड बढेपनि सोही अनुसार बिभिन्न यातायात व्यवसायिहरुले अतिरिक्त सवारी साधन समेत थपेका छन । जसले गर्दा सामान्य समयको तुलनामा बसपार्कमा सवारी साधनको समेत चाप बढेको छ । यात्रुहरुकै अनुपातमा सवारी साधनको संख्या पनि थपिएकाले टिकट पाउन भने त्यति समस्या नभएको कञ्चनपुरबाट अछाम गइरहेका जगत बोहराले बताए ।