खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : मुख्यमन्त्री भट्ट
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेल पर्यटनका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने बताएका छन्। कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले त्यसका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताए।
सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउँदै उनले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने उल्लेख गरे । सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुआतबाटै मुख्यमन्त्री कपको आयोजना गरेको बताउँदै उहाँले प्रदेशका ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको बताए।
प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको उनको भनाइ छ। सो कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए। प्रदेशका नौ जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद रु एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको भनाइ छ।
उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद रु ५० हजारसहित ट्रफी दिइनेछ। प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न पाँच वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ। जिल्लालाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकामा जिल्लाले आफ्नो जिल्लाको टिम छनोट गरेका छन्।
प्रतियोगितामा सहभागी सबै जिल्लाको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले बेहोर्ने सदस्य सचिव सिंहले बताए। सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए। उनले ती खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ। रासस