रानाथारू भाषालाई सरकारी भाषाकाे माग गर्दै धनगढीमा प्रर्दशन

धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् ।

नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले सोमबार दिउँसो धनगढी चौराहदेखि एलएन चोकसम्म नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् । एलएन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै रानाथारु समुदायका अगुवा तथा रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले भाषा आयोगले आफूहरुमाथि विभेद गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका थिए ।

सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले रानाथारु भाषालाई सुदूरपश्चिमको कामकाजी भाषा बनाउनुपर्ने माग गरे । उनले भाषा आयोगले रानाथारु समुदायमाथि विभेद गरेकाले तत्काल सच्याउनुपर्ने जनाए । भाषा आयोगले डोटेली र थारू भाषालाई कामकाजी भाषाको मान्यता दिएकोमा आफूहरुको कुनै असहमती र आपत्ति नरहेको तर रानाथारु भाषालाई पनि कामकाजी भाषाको मान्यता दिनुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारका हरेक निकायमा रानाथारूका लागि आरक्षण सुनिश्चित गर्न समेत उनीहरुले माग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.