थारु समुदायले अतवारी पर्व मनाउँदै, मुख्यमन्त्री भट्टले दिए शुभकामना
धनगढी । थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।
दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।
सुदूरपश्चिम प्रदेश सरकारले अटवारी पर्वको अवसरमा थारु समुदायकाे बाहुल्यता रहेका कैलाली-कञ्चनपुरमा सार्वजनिक विदा दिने गरेकाे छ । यसै अवसरमा मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश दिंदै थारु समुदायकाे माैलिक पर्व अतवारीले समुदायीक सदभाव र मेलमिलापका साथै भातृत्वकाे सम्बन्ध उच्च राख्न प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले काेभिड-१९ बाट उत्पन्न अहिलेकाे परिस्थितिमा स्वास्थ्य सम्बन्धिका मापदण्ड अपनाई खुशीयालीका साथ पर्व मनाउन पनि आग्रह गरेका छन् ।