Dashain Suvakamana

राष्ट्रिय जनगणना २०७८ अन्योलमा

धनगढी । सरकारले हरेक १० वर्षमा गर्दै आएको राष्ट्रिय जनगणनाको १२औं संस्करण अन्योलमा परेको छ । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने यस वर्षको राष्ट्रिय जनगणना २०७८ जेठ २२ देखि असार ८ सम्म गर्ने समय तालिका तय गरिएको थियो । कोभिड–१९ को दोस्रो लहर फैलिंँदै गएपछि विभागले गएको वैशाख २१ गते सूचना निकालेर स्थगित गरेको थियो ।

विभागको असार ९ गते बसेको अर्को बैठकले कोभिडको दोस्रो लहरको साउनदेखि असोजसम्मको प्रभावलाई मूल्यांकन गरी जनगणनाको अर्को नयाँ मिति तथा कार्यतालिका सार्वजनिक गर्ने पनि निर्णय गरेको थियो । हालको परिस्थितिका कारण विभागले नयाँ निर्णय गर्न सक्ने अवस्थामा छैन विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

उनले भने– ‘जनगणनाका लागि जिल्ला तहमा स्थापना भएका कार्यालयहरू पनि तयारी अवस्थामैै रहेका छन् । सुपरिवेक्षकहरूलाई तालिम दिने काम पनि सम्पन्न भइसकेको थिएन भने गणकहरूलाई दिइने तालिम बाँकी रहेकोले महामारीको प्रभाव सामान्य हुँदै गएपछि मात्र नयाँ कार्य तालिका बनाएर कार्यक्रम अगाडि बढाइनेछ ।’

गणनाको कामभन्दा पहिले गर्नुपर्ने तयारीका कामहरू नै बाँकी रहेका तथा साउनदेखि कोभिडको प्रभाव झन् बढ्दै गएको र सम्पूर्ण नागरिकलाई खोपको सुनिश्चितता भई नसकेको हुँदा राष्ट्रिय जनगणना २०७८ अन्योलमा परेको छ ।

हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना नेपालमा विसं १९६८देखि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले प्रारम्भ गरेका थिए । पाँचौँ जनगणना विसं २००९ देखि २०११ मा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक जनगणना मानिएको छ । संयुक्त राष्ट्रसंघले तोकेको जनगणनाका बहुआयामिक विशेषताहरूलाई समेटेर गरिएको थियो ।

पछिल्लो जनगणना विसं २०६८ मा गरिएको थियो जस अनुसार नेपालको जनसंख्या दुई करोड ६६ लाख २० हजार ८ सय ९ रहेको विभागको तथ्यांकमा देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.