सुदूरपश्चिमकाे कर्णालीदेखि महाकाली पुलसम्म सिसीटिभी क्यमेरा जडान
धनगढी । सुदूरपश्चिमकाे कर्णालीदेखि महाकाली पुलसम्म र अत्तरियादेखि त्रिनगर सीमा नाकासम्म सिसीटिभी क्यमेरा जडान गरिएकाे छ । सुदूरपश्चिम प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम अन्तर्गत एक करोड ५१ लाख लागतमा उक्त सिसीटिभी क्यामेरा जडान गरिएका हुन् ।
अपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम लगायतका सडक दुर्घटना कम गर्न सिसीटिभी क्यामेरा जडान गरिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकमा संवेदनशील क्षेत्रको पहिचान गरी १३८ वटा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । जडान गरिएका सिसीटिभी क्यामेरामा पिटिजेड (घुम्ने) सातवटा र अन्य १२० क्यामेरा जडान गरिएका छन् ।
सडकमार्ग क्षेत्रको धेरै व्यक्तिहरु जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको प्रवक्ता जोशीले बताए । क्यामेरा जडानका लागि १०८ दशमलब ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ ।
सिसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेशसन राखिएको छ । ‘क्यामेरा जडानको कार्य पूरा भएको छ‚’ प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भैरहेको र क्यामेरा जडानसँगै परीक्षण भैरहेको छ ।’