नयाँ सरकारले नयाँ बजेट ल्याउने संकेत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गरेका हुन् ।
बुधबार पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले अदालतले समेत बजेटका विषयमा बोलेकाले छलफल गरेर अगाडि बढ्ने बताए । “बजेटका विषयमा अदालतले समेत बोलेको छ । के कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गर्छौैं । नयाँ सरकारको आफ्नो योजना पनि हुन्छ” उनले भने ।नवनियुक्त अर्थमन्त्री शर्माले काराेनाविरुद्ध खोप खरिदका लागि ५ अर्बको सहमति पनि प्रदान गरेका छन् ।
सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा राखेको छ । गरीब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उनले बताए ।
यस्तै, गृहमन्त्री खाँणले पनि पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८/८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने बताए । बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिइने उनले बताए ।