Dashain Suvakamana

बाढी पहिराेमा हालसम्म ५१ जनाको मृत्यु, विपत्ति झनै बढ्नसक्ने

धनगढी । यस बर्षको मनसुनपश्चात देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ५१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छभने जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका  छन्। यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन्। तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन्। विभागले शुक्रबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, माङ्दी लगायतमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ। यस्तै कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतमा बहाब केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने स-साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.