Dashain Suvakamana

जन्मिने वित्तिकै छोरीको बैंक खाता, बीस वर्षमा एकलाख २० हजार

प्रदेश सरकार

मुना हमाल

सुर्खेत । कालीकोटको खाँडाच्रक्र नगरपालिका–२ का नयाँ सुनार खेती किसानी र मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।खेतीले वर्षभरी खान पुग्दैन् । आर्थिक अवस्था कमजोर भएपछि यो परिवारले मजदुरी नगरेसम्म चुल्लो बल्दैन । आम्दानी नभएपछि बैंकमा खाता र बचत त सम्भव भएन । तर यहीँ परिवारमा जन्मिएकी सानी छोरी जमुनाको भने बैंकमा खाता छ । खाता मात्र होइन्, पैसा पनि जम्मा भइरहेको छ ।

२०७६ पुस १ गते प्रदेश सरकारले जमुनाको बैंकमा खाता खोलिदिएको थियो । उक्त खातामा प्रदेश सरकारले हरेक महिना पाँच सय रुपैयाँ जम्मा गर्दै आएको छ । हरेक परिवारमा छोराकै मोह गर्छन् । परिवारमा छोरी जन्मिदा नाक खुम्च्याउने गरिन्छ । तर, जमुनाको परिवारमा भने बेग्लै खुशी छ । कारण जमुनाको अभिभावक प्रदेश सरकार बनेको छ । परिवारले भन्दा पहिला प्रदेश सरकारले बैंकमा खाता खोलेर उनको सुन्दर भविष्यका लागि जग हालिदिएको छ ।

समाजमा छोरीहरुमाथिको विभेद कम गर्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले हाल बैंक खाता छोरीको, सुरक्षा जीवनरभरीको कार्यक्रम सञ्चालन गरिरहेको छ । यहीँ कार्यक्रममार्फत कर्णालीमा छोरीहरु जन्मिने वित्तिकै प्रदेश सरकारले बैंकमा खाता खोलेर रकम जम्मा गर्न थालेको हो । सरकारले छोरीको बैंकमा खाता खोलेर पैसा जम्मा गरिदिन थालेपछि हिजोआज छोरीप्रतिको दृष्टीकोण बदलिएको छ । छोरा मोहमा डुबेको समाज विस्तारै छोरीलाई सम्मान गर्न थालेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थित कालिकोटमा जमुनाको खाता खोलिएको थियो । प्रदेश सरकारले छोरी जन्मने वित्तिकै खातामा पैसा हाल्न थालेपछि जमुनाका बुवा नयाँ सुनारले भने, ‘यसअघि जन्मिएका छोराछोरीको बैंकमा खाता थिएन, पैसा नभएपछि खाता मात्र खोलेर के गर्नु ? तर प्रदेश सरकारले छोरी जमुनाको खाता खोलिदियो, हाम्री छोरीको खास अभिभावक त प्रदेश सरकार भयो ।’ आर्थिक अभावका कारण छोरीलाई पढाउन नसक्ने आफ्नो परिवारका लागि अब प्रदेश सरकारको सहयोगले छोरीले पढ्न पाउने उनले बताए।

कर्णालीमा अहिले पनि छोरीमाथि गर्भदेखि नै विभेद छ । शिक्षित परिवारले नै गर्भमा छोरी भए भ्रणहत्या गर्ने र छोरा भए जम्माउने गर्दछन् । साथै छोरीलाई नपढाउने र चाँडै बिहे गरिदिने प्रचलन कर्णालीमा छ । यही कारणले प्रदेश सरकारले छोरीलाई उच्च शिक्षा दिलाउन, सम्भावित हिंसा रोक्न र बालबिवाह न्यूनिकरण गर्न यो कार्यक्रम सञ्चालन गरेको हो । रुकुम पश्चिमको मुसिकोटका यामबहादुर खत्रीले पनि प्रदेश सरकारले सञ्चालन गरेको यो कार्यक्रमले आफ्नो छोरीको सुन्दर भविष्यको बाटो खुलेको बताए। उनको छोरी शारा खत्रीको नाममा पनि प्रदेश सरकारले बैंकमा खाता खोलिदिएको छ ।

उनले भने, ‘हामी आफैँले पनि छोरीका लागि सोच्नुपर्ने हो, तर प्रदेश सरकारले नै छोरी जन्मिने वित्तिकै बैंकमा खाता खोलिदियो । छोरी हाम्रो भए पनि प्रदेश सरकाले अभिभावकको भूमिका निर्वाह गरेको छ, यसले छोरीको भविष्य सुरक्षित भयो ।’ कर्णाली प्रदेश सरकारले छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि आफैँले रकम बचत गरिदिने योजना कार्यान्वयनमा ल्याएपछि बैंकमा छोरीको खाता खोलिएको छ ।

प्रदेश सरकारका अनुसार २०७६ साउन यता जन्मिएका सबै छोरीहरुको बैंकमा खाता खोलिएको छ । यो कार्यक्रम छोरीको सामाजिक न्यायका लागि विशेष मानिएको छ । महिलाहरुको उत्थान, शसक्तिकरण, समग्र विकास तथा बालिकाहरुमाथिको लैङ्गिक विभेद अन्त्य गर्न, सामाजिक कुसंस्कारको रुपमा रहेको बालबिवाह रोक्न, भु्रण हत्या रोक्न, बालिकाहरुको स्नात्तकसम्मको पढाई सुनिश्चित गर्न बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।

दश हजार छोरीको बैंक खाता

प्रदेश सरकारले छोरी जन्मिएपछि खाता खोल्दा एक हजार र दोस्रो महिनादेखि प्रत्येक महिना पाँच सय रुपैयाँका दरले खातामा पैसा जम्मा गर्दै आएको छ । छोरी २० वर्ष पुग्ने बेलासम्म सरकारले रकम जम्मा गर्ने छ । यसरी प्रदेश सरकारबाट एक जना छोरीको खातामा एक लाख २० हजार रुपैयाँ जम्मा हुन्छ । यसको ब्याजसहित गरेर छोरीले २० वर्ष पुगेपछि मात्र बैंकबाट उक्त रकम झिक्न पाउनेछन् । उक्त रकम छोरीको उच्च शिक्षामा खर्च गर्न सहज हुने प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.