Dashain Suvakamana

कञ्चनपुरका सिडियाेलाई कति रूपैयाँ चाहियाे भन्दै फोन आएपछि…

धनगढी । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले।शुक्रबार बेलुका लगातार ५/७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए।

महतोको फेसबुक मेसेन्जरमा पनि त्यस्तै खालका मेसेजहरू आएका थिए।उनले कसैसँग पनि सहयोग मागेका थिएनन्। यसबारे तुरुन्त उनले खोजी सुरू गरे। ‘मेरा साथीहरूसँग मेरो नामको फेसबुकबाट २० देखि ३० हजार रुपैयाँ मागेको थाहा पाएँ। त्यो कसैले मेरो फोटो र नाम राखेर फेक आइडी बनाएर ठग्न खोजेको रहेछ,’ उनले भने।

फेसबुकमा महतोको फोटो प्रोफाइलमा राखिएको थियो। कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो थियो।मेसेन्जरमा पैसा माग्नेले गुगल वा फोन पेबाट मागेको थियो। ‘मोबाइल नम्बर र खाता नम्बर पनि पठाएको देखिन्छ। मेरा साथीहरूले स्क्रिनसट गरेर पठाएका छन्, नम्बरहरू नेपालका होइनन् जस्तो छ,’ उनले भने।उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै फेसबुकमै सूचना हाले।

‘अज्ञात व्यक्तिले मेरो तस्वीर राखी नक्कली फेसबुक अकाउण्ट खोलेको देखिन्छ। यस आइडीलाई ब्लक गर्नुहुन, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्नु हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्। यस अकाउण्ट सम्बन्धमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए।मेसेजमा श्रीमती र साथीलाई समस्या परेर अस्पतालमा छु भन्दै ठग्न खेजेको देखिएको छ। यो अनुसन्धानको विषय भएकाले प्रहरीले अनुसन्धान गर्ने उनले बताए।कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पनि सामाजिक सञ्जालको प्रयोग गरी  पैसा माग्ने गरेको गुनासो आउने गरेका छन्।

कञ्चनपुरका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर वमले चिठ्ठा परेको, पैसा हाल भनेर झुक्याउने खालका मेसेजहरू आएका गुनासा प्राप्त भएको बताए।उनले प्रहरीले सक्दो सहयोग गर्ने र जटिल केसको अनुसन्धानका लागि साइबर ब्युरोमा पठाउने गरिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.