सुदूरपश्चिमका काेराेना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने
धनगढी । सुदूरपश्चिम प्रदेशका काेराेना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएकाे छ । काेभिड-१९ व्यबस्थापन अध्यादेश अन्तरगत प्रदेशमा गठित ‘सुदूरपश्चिम प्रदेश निर्देशक समिति’काे बैठकले स्थानीय तहसँगकाे समुन्वयमा शिघ्र परिक्षण शिविर सञ्चालन गर्ने निर्णयअनुसार शिविर सञ्चालन गरिने भएकाे हाे ।
प्रदेशका पहाडी जिल्ला डाेटी अछामलगायतका विभिन्न गाउगाउँमा संक्रमित बढी देखिएकाेले परिक्षण बढाउन तथा राेकथाम नियन्त्रणका लागि शिविर संञ्चालन गरिन लागेकाे प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । मुख्यमन्त्री अध्यक्ष रहेकाे उक्त समितिकाे बैठकले भारतीय सीमा नाकामा चेकजाँच तथा हेल्पडेक्स, हाेल्डिङ सेन्टर, स्थानीय तहका क्वारेन्टीन, आईसाेलेसनलाई थप प्रभावकारी बनाउन स्थानीय तहकाे मागअनुसार बजेट विनियाेजन गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी ताेकेकाे छ ।
यस्तै काेभिडसँगै बर्षादकाे माैसममा विभिन्नखाले सरुवा राेगकाे प्रकाेप र प्राकृतिक प्रकाेप, बाढी-पहिराे, डुवानलगायतका जाेखिम नियन्त्रण तथा न्युनिकरणमा नेपाली सेना, प्रहरी, प्रशासन र स्थानीय जनतहसँग समन्वय गर्न आन्तरिक मामला तथा कानून मन्त्रालयलाई जिम्मेवारी ताेकेकाे छ ।
तेस्राे लहरकाे काेभिड संक्रमणलाई मध्यनजर गरी प्रदेशभित्रका सबै अस्पतालमा कम्तिमा १० वेड काेभिड-१९ संक्रमितलाई छुट्टाएर राख्न लगाउने र सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र भेन्टिलेटर जडान गर्ने कार्य ढीलाे नगरी यसै महिनाभित्रै सम्मपन्न गर्नसमेत निर्देशन गरेकाे समितिका सूचना अधिकारी विश्वदीप बेस्राले जानकारी दिए ।