बाढी पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता
धनगढी । यसवर्षकाे मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोका कारण ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । मंगलबार रातिदेखि बुधबार साँझसम्म देशमा विभिन्न स्थानमा बाढी पहिरो जाँदा ६ जनाको मृत्यु र २७ जना बेपत्ता भएका गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची बजारका दुई जना, कास्की, बाजुरा, पाल्पा र डोटी जिल्लाका एक-एक जना रहेका छन् ।सिन्धुपाल्चोक, जाजरकोट, बाजुरा, गोरखा लगायतका जिल्लामा बेपत्ता भएका नागरिकको खोजी कार्य भइरहेको छ । बाढी र पहिरोमा परेका सिन्धुपाल्चोकका ६६ जना, कास्की, पाल्पा र स्याङ्जाका एक-एक जना गरी ६९ जनाको उद्धार गरिएको छ ।
विभिन्न जिल्लामा बाढी र पहिरोमा परी ८ जना घाइते भएका छन् । घाइतेहरूको सम्बन्धित अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण देशभरिमा १६५ घर डुबानमा परेका छन् । वर्षाका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।
बाढी पहिराेबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको छ । यसै गरी ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।