टीकापुर घटनाका सबै मुद्दा फिर्ता गर्ने सरकार र थरुहट पक्षबीच सहमति
काठमाडौं । सरकारी वार्ता टोली र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज मंगलबार भएको पाँचौ चरणको बार्ताले ६ बुँदे सहमति गरेको छ। सरकारी बार्ता टोलीका सदस्य डा. राजन भट्टराईकाअनुसार कैलालीको टीकापुरमा भएको दुःखद घटनामा आरोपिट धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतका सबै मुद्दा फिर्ता गर्ने सहमति भएकाे हाे ।
उनले भने तर त्यसकालागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति गरिएको छ। यसैगरी थरुहट आन्दोलनका क्रममा शहीद भई राहत प्रदान गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने, आन्दोलनका क्रममा भएका धनजन क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने र महिला, असहायमाथि भएको दूव्र्यवहारको छानविन गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
सिंहदरवारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्तामा सहमतिको मस्यौदा तयार भएको थारु कल्याणकारिणीसभा (थाकस) का महामन्त्री तथा वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरीले जानकारी दिए। सरकार र थरुहट वार्ता टोलीबीच सोमबार पनि चौथो चरणको वार्ता भएको थियो।
सोहीअनुसार संविधानले गरेको व्यवस्थाअनुसार राज्यको हरेक तह र निकायमा थारु समुदायको आरक्षणको व्यवस्था तथा संविधानले दिएको सबै व्यवस्थाअनुरुप सहुलियत उपलब्ध गराउने, थारु बाहुल्य भएको क्षेत्रमा प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन शुरु गर्ने, कमैया तथा कमलहरीसँग विगतमा सरकारले गरेको सहमतिको कार्यान्वयन गर्ने र औचित्य र आवश्यकताका आधारमा सबै पक्षसँग छलफल गरी संविधान संशोधनको पहल गर्ने सहमति पनि भएको डा. भट्टराईले बताए।