Dashain Suvakamana

इराकसँग नेपाल ६–२ ले पराजित

इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो ।

नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

१४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए । २९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् ।

३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए । ६७ औं मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए ।

खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.