सीसीएमसी खारेज, अब कोभिड–१९ निर्देशक समिति
सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न स्थापना गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । योसंगै सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको हाे ।
सरकारले बिहीबार जारी गरेको र शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेपछि लागू भएको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार अब २०७७ साल वैशाख १६ गते मन्त्रिपरिषद्ले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति कोरोनाको रोकथाम र नियन्त्रण गर्न नयाँ कानुन आएसँगै निष्क्रिय भएको छ ।
यसका साथै अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ ।सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।
सीसीएमसीले प्रभावकारी काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नयाँ संयन्त्रण गठन गरेको हो ।