नयाँ सरकार गठनबारे छलफलमा जुट्दै विपक्षी दल
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आव्हान गरेपछि प्रतिपक्षमा रहेका दलहरु आजदेखि नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आव्हान गरेकी हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव–झलनाथ पक्षका नेताहरुलाई छलफलका लागि बोलाइएका छन् ।
उनले नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएको देउवानिकट स्रोतले जानकारी दिएको छ । छलफलको समय यकिन नभएपनि दिउँसो १ बजेपछि छलफल हुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।