बहुमत सांसदको नाराबाजीबीच मुख्यमन्त्री पोखरेलको शपथ
लुम्बिनी प्रदेश सभामा अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । विपक्षी दलहरूको विरोधबीच आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पोखरेलको शपथ गराएका छन् ।
प्रदेश सभामा अहिले ८१ सदस्य छन् । बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । तर, मुख्यमन्त्री पोखरेलको पक्षमा अहिले उपसभामुख सहित ३७ सांसद मात्रै छन् । पोखरेलले आइतबार बिहान मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृति गरेको केही घन्टामै प्रदेश प्रमुख यादवले उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । जब कि त्यसअघि नै माओवादी केन्द्र–कांग्रेससहितको विपक्षी गठबन्धनले ४० सांसदको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको जानकारी प्रदेश प्रमुखलाई गराएको थियो ।
प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । त्यसैले एकल बहुमतको सरकार गठन गर्ने रणनीतिसहित पोखरेलले राजीनामा दिएका थिए । तर, राजीनामालगत्तै एमाले सांसद विमला वलीले माओवादी केन्द्रमा लागेको घोषणा गरिन् । तत्कालीन नेकपाका तर्फबाट उनी गत उपनिर्वाचनमा दाङ ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।
दिउँसो १ः४० बजे नै विपक्षी गठबन्धनका नेताहरू ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए । प्रदेश प्रमुखको कार्यालयबाट भने पौने ३ बजे मात्रै प्रेस विज्ञप्ति जारी गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको सार्वजनिक गरिएको थियो ।
माओवादी सांसद दामाकुमारी शर्माले आफूहरूसँग बहुमत रहेको जानकारी गराउँदा–गराउँदै पनि संविधानविपरीत पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको बताइन् । ‘हामी बहुमतको सरकार बनाउँछौँ, हामीसँग बहुमत छ । ४० जना सांसदको त हस्ताक्षर नै ल्याएका छौँ, केही सांसदहरू आउँदै हुनुहुन्छ भनेर जानकारी गराएका थियौँ,’ शर्माले भनिन्, ‘एक–डेढ घन्टापछि ४२ सांसदको हस्ताक्षर लिएर जाँदा मुख्यमन्त्री नियुक्ति भइसकेको भनियो ।’
दिउँसो ४ बजेतिर विपक्षी गठबन्धन ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालय पुगेको थियो । कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई, राजमोका एक र स्वतन्त्र समूहका दुई सांसदको हस्ताक्षर छ ।
विपक्षी गठबन्धनका सांसदहरूले अल्पमतमा रहेका पोखरेलको शपथ नगराउन प्रदेश प्रमुखको कार्यालयमै धर्ना दिएका थिए । तर, राति कडा सुरक्षाबीच प्रदेश प्रमुख यादवले मुख्यमन्त्री कार्यालयमा गएर शपथ गराए । प्रदेश प्रमुख यादव मुख्यमन्त्री कार्यालय जाने क्रममा प्रहरीले धर्नामा बसेका सांसदहरूमाथि बल प्रयोग गरेको थियो ।
तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वली माओवादीतर्फ लागेपछि पाेखरेलकाे पक्षमा ४० सांसद मात्रै रहेका थिए । सूर्य चिह्नबाट चुनाव जितेका नवलपरासीका अजय शाही र कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तवले पनि पोखरेलको साथ छाडेको घोषणा गरे । उनीहरूले गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रूपमा अगाडि सारिएका कुलप्रसाद केसीका पक्षमा हस्ताक्षर गरेका छन् ।
संघीय सरकारमा स्वास्थ्यमन्त्री रहेका हृदयेश त्रिपाठीसँगै उनीहरू सूर्य चिह्नबाट चुनाव लडेका थिए । शाही नवलपरासी पश्चिम १ ‘ख’बाट र श्रीवास्तव कपिलवस्तु २ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनीहरूले आफूलाई स्वतन्त्र समूह बताउने गरेका छन् । दिउँसो कपिलवस्तुका अर्का सांसद दृगनारायण पाण्डेले त सांसद र पार्टीबाट नै राजीनामा दिए । अब प्रदेश सभामा एमालेका ३७ सांसद मात्रै छन् ।