Dashain Suvakamana

कोरोना भएका सांसदले पनि अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

कोरोनाभाइरसको संक्रमण भएका सांसदले पनि गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव टुंगो लगाउन मतदान गर्न पाउने भएका छन्।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल जारी रहेको छ। मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद् अवरुद्ध गरेका थिए।

उनीहरुको माग बमोजिम मंगलबार नै सबै सांसदको कोरोना परीक्षण गरिएको छ। त्यसको नतिजा आज बिहान १० बजेसम्म आउने जनाएको छ।कोरोना संक्रमण देखिएमा पनि सांसदले अविश्वास प्रस्ताव टुंग्याउन गरिने मतदानमा भाग लिन पाउने सहमति जुटेको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले बताए। उनका मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो।

तर, कोरोना संक्रमण देखिएका सांसदले अविश्वास प्रस्तावमाथिको छलफलमा भने भाग लिन पाउने छैनन्। कोरोना भएका सांसदले छलफलमा भाग लिन पाउने छैनन्, मतदानमा भाग लिन पाउनेछन्, सांसद दवाडीले भने। कार्यव्यवस्था परामर्श समितिमा सहमति जुटेपछि मंगलबार नै सबै सांसदको कोरोना परीक्षण गरिएको छ। आज दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

आज दिउसो बस्ने बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। समयमा छलफल सकिएमा आजै मतदान हुनसक्ने सांसद दवाडीले बताए। छलफल लम्बिएमा भने भोलि मतदान हुनेछ।गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। जसमा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद छन्। त्यस्तै, जनमोर्चाका ३ सांसद छन्।

प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यकता छ। मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन एमालेबाहेक थप ३ सांसदको समर्थन आवश्यक पर्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.