नयाँ कीर्तिमानी रच्दै नेपालले त्रिदेशीय टी-२० सिरिजको उपाधि उचाल्याे

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।

श्रृंखलामा नेपालका ओपनर कुशल भुर्तेल प्लेयर अफ द सिरिज बनेका छन् । प्रतियोगितामा ४ अर्धशतक बनाएका उनी यो अवार्डका स्वभाविक हकदार थिए । डेब्यू प्रतियोगितामै कुशलले शानदार ब्याटिङ गर्दै सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । प्रतियोगिताभर उनले ५ म्याच खेल्दा उनले २ सय ७८ रन जोड्न सफल भए । उनले ६९.५०को औसत र १४०.४० को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

कुशलले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७७ रन बनाएका छन् । यस्तै, फाइनलको म्यान अफ द म्याच पुरस्कार करण केसीले पाए । ब्याटिङमैत्री पिचमा उनले आज तीन विकेट लिएका थिए । कसिलो बलिङ गरेका उनले तीन ओभरमा ११ रन मात्रै खर्चेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.