Dashain Suvakamana

आज लोकतन्त्र दिवस : ‘जनताले जितेको दिन’ – मुख्यमन्त्री भट्ट

काठमाडौं । जनताले जितेको दिन देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ ।

तानाशाही जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा आज १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । विसं २०६२र६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी)बीच सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा एकप्रकारको विश्वास पैदा भएको थियो । जनु विश्वास जनविद्रोहमा परिणत भएको थियो । सत्ता र शक्तिका अगाडि कुनै परवाह नै नगरी नेपाली जनता परिवर्तनको पक्षमा एकाकार भएका थिए । त्यसलाई नेपालको राजनीतिक इतिहासमा १९ दिने ऐतिहासिक जनआन्दोलन वा दोस्रो जनआन्दोलनको रुपमा लिपीवद्ध गरिएको छ । नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाए । संविधानसभामार्फत २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो ।

प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षको अन्तरघुलनको परिणाम स्वरूप नेपालका झण्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । यही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश व्यक्त गर्दै जनताकाे जित भएकाे दिन भनेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्- ‘शसस्त्र जनयुद्धकाे जगमा भएकाे जनआन्दाेलनले राजतन्त्रलाई कर्नरमा पारेकाे दिन यस अवसरमा सम्पूर्ण शहिद, गणतन्त्रका याेद्धा, घाईते, बेपत्ता तथा परिवर्तनकामी जनसमुदायलाई स्मरण गर्दै देश विदेशमा रहनुभएका प्रदेशवासी सबैमा शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.