बाैद्धिक अपाङ्गता भएका ब्यक्तिका अभिभावकलाई सचेतना तालिम
सुदूरपश्चिममै पहिलाे पटक
धनगढी । सुदूरपश्चिममै पहिलाे पटक धनगढीमा अपाङ्गता भित्रकाे जटिल अवस्था बाैद्धिक अपाङ्गता भएका ब्यक्तिलाई समाजमा स्थापित गर्न तथा उनीहरुकाे बाँच्नने अधिकार सम्बन्धी अभिभावकलाई सचेतना तालिम दिइएकाे छ । नेपाल सरकारको सहयोग, बौद्धिक अपाङ्गतका अभिभावक महासंघ नेपालको आयोजना र बौद्धिक अपाङ्गताका अभिभावक संघ कैलालिको समन्वयमा बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि अभिभावक सचेतना तालिम बुधवारदेखि २ दिने चल्ने छ ।
अछाम, डोटी, बैतडी, बझाङ्ग, दार्चुला, डडेलधुरा, कैलाली र कन्चनपुर गरी ८ जिल्लाका १३ जना महिला सहित २५ जना बौद्धिक अपाङ्गता भएका ब्यक्तिका अभिभावकहरु सहभागी भएको उक्त तालिममा बौद्धिक अपाङ्गता भएका ब्यक्ति र अभिभावकहरुले भोग्नु परेका चुनौतिहरुका बारेमा अनुभव आदान प्रदान गरिएको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले जानकारी दिए ।
नेपालको जनगणना २०६८ अनुसार सुदूरपश्चिम प्रदेशका बाजुरा ९९, बझाङ्ग ९३, दार्चुला ६०, बैतडी १६८, डडेलधुरा १६४, कन्चनपुर १५२, कैलाली ३२२, डोटी १३६, अछाममा १३५ गरी जम्मा १,३२९ जना बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । त्यस यता कुनै पनि निकायले बौद्धिक अपाङ्गताको तथ्यांक अध्यावधी गरेका छैनन् । अव आगामी जनगणनामा मात्र यो तथ्यांक अध्यावधी हुनेछ ।
बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका अधिकारका बारेमा सुदूरपश्चिम प्रदेशमा नै पहिलो पटक आयोजना गरिएको कार्यक्रममा उनीहरुको हेरचार, इच्छा र आवश्यकताहरुका बारेमा जानकार नहुँदा अधिकांश अभिभावकहरुले बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरु घरपरिवारबाटै अन्जनामा बिभेदको शिकार भइरहेको हुने रहेछन भन्ने कुरा ब्यक्त गरेका छन् ।
तालिममा अपाङ्गताको परिचय, परिभाषा, प्रकार, वर्गिकरण, बौद्धिक अपाङ्गता सम्बन्धी जानकारी, सञ्जालीकरण, नेतृत्व विकास, श्रोतको पहिचान, बौद्धिक अपाङ्गताको अधिकारको लागि जनवकालतका विधि, प्रकृया र कार्ययोजना निर्माण जस्ता विषयमा सहभागीहरुलाई बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेत र बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव रामनारायण श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
सुदुरपश्चिम प्रदेशमा रहेका बौद्धिक अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरुलाई बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले आफ्नो कर्तब्य सम्झेर कार्यक्रमको आयोजना गरेकाेमा सहभागिहरुले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालप्रति आभार ब्यक्त गरेका थिए । बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सवाल सुदूरपश्चिम प्रदेशमा छायामा परिरहेका अवस्थामा यो तालिमले बौद्धिक अपाङ्गताको उजागर गर्न एक इट थप गर्ने बिश्वास गरिएको छ ।
बौद्धिक अपाङ्गता सम्बन्धी प्रादेशिक सुविधा सम्पन्न आवाशिय बिद्यालय निर्माणको थालनि बाहेक बौद्धिक अपाङ्गता सम्बन्धि सचेतना र सशक्तिकरणका सवालहरु सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका स्थानीय तहहरुको बार्षिक नीति कार्यक्रमा प्राथमिकतामा पर्न सकेको छैन् ।