काेहलपुरमा बस टिप्परसँग ठोक्किदा ५ को मृत्यु, ३७ जना घाइते
बाँकेको कोहलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको ट्रिप्परसँग ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षिय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बस धनी ४५ वर्षिय छत्र कटुवाल रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।यस्तै एक जना अन्दाजी ३५ वर्षीय भारतीय महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी रहेको छ।
दुर्घटनामा परि एक जनाले घटनास्थलमै र अन्य ४ जनाले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गुमाएका हुन्।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घटनामा ३७ जना घाईते भएका छन्।
जसमध्ये ७ जनाको अवस्था गम्भीर छ भने, १४ जनाको अवस्था मध्यम छ। २१ जना घाईतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए। घाईतेहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भईरहेको छ।