धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गालाई
धनगढी । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले आयोजना गरेको सातौँ संस्करणको धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्। २१.१ किलोमिटरको दूरी उनले एक घण्टा ६ मिनेट ८.१८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन्।
बुढाले लगातार तेस्रोपटक उपाधि जितेका हुन्। उपाधिसँगै बुढाले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे। त्यस्तै, एक घन्टा ९ मिनेट ८.५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावतले दोस्रो स्थान हासिल गरे भने सशस्त्र प्रहरीका सन्तोष विष्ट तेस्रो भए। उनले निर्धारित दूरी एक घन्टा १२ मिनेट ४.२७ सेकेण्डमा पार गरेका थिए।
दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमशः ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ पाएका छन्। पहिलोपटक आयोजना गरिएको खुला ५ किलोमिटर महिलातर्फको उपाधि कैलालीकी सीमा चौधरीले जितिन्। उनले उक्त दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गरिन्। उपाधिसँगै चौधरीले पाँच हजार ५५५ रुपैयाँ प्राप्त गरिन्।
उक्त प्रतिस्पर्धामा सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए। चौधरीले निर्धारित दूरी २० मिनेट ४४.२८ सेकेण्ड र खड्काले २२ मिनेट ६.३१ सेकेण्डमा पूरा गरेका थिए। उपाधिसँगै दोस्रो र तेस्रो हुनेले क्रमशः तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ प्राप्त गरे। ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा अपाङ्गता भएका खेलाडीलाई ट्राईसाइकल रेसमा सहभागीता गराईएकाे थियाे ।
धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका विजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।