Dashain Suvakamana

एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज हुँदै

काठमाडौँ । माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा सहभागी चार मन्त्रीले दल त्यागेकाले प्रतिनिधिसभाको सांसद पदबाट समेत हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेको छ ।

संसदीय दलका नेता पुष्पकमल दाहालले अर्घाखाँची–१ का टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले अब राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअन्तर्गत प्रक्रिया अघि बढाउन भन्दै संसद् सचिवालयलाई पत्राचार गरेका हुन् । अध्यक्ष दाहालले संसदीय दलका तर्फबाट संघीय संसद्का महासचिवलाई लेखेको पत्र प्रमुख सचेतक देव गुरुङले मंगलबार दिउँसो संसद् सचिवालयमा बुझाएका थिए ।

रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । उनीहरू चारै जना निर्वाचित सांसद हुन् । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाहीको प्रक्रिया अघि बढाएको छ तर उनलाई सांसदबाट हटाउनेसम्बन्धी पत्र पठाइसकेको छैन । थापा राष्ट्रिय सभा सदस्य भएकाले उनको सम्बन्धमा छुट्टै पत्र पठाउने माओवादी नेताहरूले जनाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा दल त्याग गरेको सूचना दिनुपर्ने प्रावधान छ । उक्त दफाको उपदफा १ मा ‘संघीय वा प्रदेशसभाको सदस्य रहेको दलको सदस्यले यस ऐनबमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्नेछ’ भन्ने उल्लेख छ । यही प्रावधानअनुसार दाहालले चार जना सांसदले दल त्यागेको सूचना सचिवालयलाई दिएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.