Dashain Suvakamana

एन्फा प्रेसिडेन्ट कपको उपाधि कैलालीको स्टार सिटी क्लबले जित्यो

धनगढी । कैलालीको स्टार सिटी युवा क्लबले नेपालगञ्जमा सञ्चालित एन्फा प्रेसिडेन्ट लिग– २०७७ को  उपाधि जितेको छ ।आइतबार नेपालगञ्ज रंगशालामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ ले पराजित गरेको हो । आइतबारको नतिजासँगै स्टार सिटी १६ अंकसहित शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो ।

लुम्बिनी प्रदेशको धम्बोझी क्लब, बाँके १२ अंकसहित दोस्रो, प्रदेश २ को मनकामना युवा क्लब, रौतहट तेस्रो र त्रिवेणी युवा क्लब, लमजुङ चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन् । प्रतियोगिताको शीर्ष चार टिम र शहीद स्मारक ए डिभिजन लिगका शीर्ष ६ टोलीले अब राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।आइतबार नै रौतहटको मनकामना युवा क्लबले प्रदेश १ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको थियो । उपाधि विजेता स्टार सिटीले १० लाख, दोस्रो हुने धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त गर्‍यो ।

प्रतियोगितामा स्टार सिटीका धनराज थापा उत्कृष्ट रक्षक, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए  । उनीहरुले जनही २५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै स्टार सिटीका रुपबहादुर विष्टले ५० हजार रुपैयाँ जितेका छन् ।प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)  का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटीका सदस्य एवम एन्फा केन्द्रीय सदस्य दीर्घबहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्रविक्रम थापा, उपाध्यक्ष अजितराज भण्डारी, सूर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कार प्रदान गरे ।

चैतको २ गते सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.