सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वप्रशासक बोहरा
धनगढी । सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। मुख्यमन्त्रीकाे नेतृत्वमा सभामुख र प्रतिपक्षी दलकाे नेता सदस्य रहेकाे समितिले गरेकाे सिफारिस अनुसार प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो।
डडेल्धुराकाे नवदुर्गा गाउँपालिकामा जन्मेका बोहरा यसअघि कैलाली लगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीकाे कार्यभार सम्हाले थिए। कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिना अगाडि राजीनामा दिएका हुन्।
बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त भएका छन्। यस्तै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएकाे छ । याेसँगै नव नियुक्त अध्यक्ष र सदस्यहरुकाे सफथ केही दिनमै हुने मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले जानकारी दिएकाे छ ।