बिपद व्यबस्थापनमा रेडक्रससँग प्रदेश सरकार साझेदारी गर्ने : मुख्यमन्त्री
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सरकारसँग समन्वय गरेर सामाजिक संघ संस्थाहरुले आपत बिपदकाे व्यबस्थापनमा जुटे मात्रै बस्तविक सामु पुगिने बताएका छन् ।नेपाल रेडक्रस साेसाईटी कैलाली जिल्ला शाखाकाे स्वर्ण जयान्ती समाराेहलाई बुधवार धनगढीमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
निस्पक्षता र तटस्थाकासाथ पीडितकाे घाउमा मल्हम लगाउने रेडक्रसकाे सिद्धान्त पदाधिकारीले कामकाे दाैरानमा देखाउनुपर्नेमा जाेड दिदैं बिपदकाे पूर्व तयारी तथा व्यबस्थापनमा प्रदेश सरकार रेडक्रससँग साझेदारी गर्न तयार रहेकाे बताए ।‘प्राकृतिक विपद्को बेला प्रदेश सरकार र रेडक्रस संगसंगै गएको छ’, उनले भने ।
विपद् पूर्व तयारी र विपद् आइसकेपछि छिटोभन्दा छिटो काम गर्नका लागि प्रदेश सरकारले तयारी गरेको मुख्यमन्त्री भट्टको भनाइ थियो । उनले भने- ‘यसमा हामी साझा रुपबाट काम अगाडि बढाउन सक्छौं ।’
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा ब्लड बैंक स्थापनामा सरकार लागिरहेकाे भन्दै साेझा सादा जनताकाे पहुँच पुग्ने गरी अन्य के सामाग्री वा संरचना चाहिन्छ रेडक्रसजस्ता पराेपकारी संस्थाले याेजनासहित सरकारसँग समन्वय गर्न आउनुपर्ने बताए । मुख्यमन्त्री भट्टले भने- ‘सुदूरपश्चिम प्रदेश सरकार सक्दाे सहयाेग र सहकार्य गर्छ ।’
नेपाल रेडक्रस सोसाइटी कैलालीक शाखाका सभापति उत्तम जोशीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशी बडाल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, रेडक्रसका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
मानवीय सेवा गर्ने उद्देश्यले २०२७ सालमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको स्थापना भएको थियो । यो शाखा स्थापना भएको ५० वर्ष पुगेको छ ।