Dashain Suvakamana

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित घट्दै

धनगढी । संसारभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका संक्रमित सुदूरपश्चिम प्रदेशमा भने घट्दै गएका छन् । माघ महिना सुरु भएयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । दैनिक १ सयको हाराहारीमा देखिने संक्रमण दर अहिले घटेर एक दुई जनामा सिमित भएको छ ।

पहिलेको तुलनामा परिक्षणको दर पनि घटेको छ तर पनि परीक्षणको तुलनामा संक्रमण पुष्टि हुनेको संख्या पनि एकदम न्युन नै रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । सोमबार सुदूरपश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन । पछिल्ला केही दिन यता प्रदेशभरी गरि दैनिक १ सय जनाको हाराहारीमा मात्र कोरोना परिक्षण हुने गरेको छ । प्रदेशमा पाँच वटा प्रयोगशाला रहेपनि परिक्षण भने न्युन संख्यामा मात्र हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न पाँच ठाँउका प्रयोगशालामा कोरोना परिक्षण हुने गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरी १ लाख ३५ हजार ७ सय १५ जनाको स्वाव संकलन गरिएकोमा १ लाख ३५ हजार ६ सय १७ जनाको स्वाव परिक्षण गरिएको छ । जसमा १३ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा सोमबारसम्म १२ हजार ७ सय ८ जना कोरोना संक्रमित डिष्चार्ज भैइकेका छन् भने हाल १२ सय १३ जना मात्र सकृय संक्रमित प्रदेशभरी रहेका छन् ।

मन्त्रालयका अनुसार हाल सुदूरपश्चिमका अस्पतालमा दुई जना संक्रमित मात्र उपचाररत रहेका छन् । दुई जना मध्य एक जना डडेल्धुरा अस्पताल र एक जना जोगबुडा अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । प्रदेशका नौ वटा जिल्ला मध्य सबैभन्दा बढी सकृय संक्रमित कैलालीमा २ सय ७० जना रहेका छन् भने सबैभन्दा कम बैतडीमा ५४ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म ५५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.